Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

राजवंशी सहिद परिवार निराश

विराटनगर, असार १७ -
'मधेसका नाममा धोका मात्र भयो, अन्य समुदायले त सोझासीधा भनेर हाम्रो भावनामा खेलवाड गरेकै थिए, तर मधेसी भनाउँदा पनि उनीहरूभन्दा कम निस्केनन्,' सहिद पिता राजकुमार राजवंशीले भने, 'आज मेरा छोराको बलिदान खेर गएजस्तै लागिरहेको छ ।'

मोरङको कटहरी ५ हल्दीबारीका राजकुमार यतिबेला दुःखी छन् । उतिबेला मधेस मुक्तिका लागि भन्दै हातमा मसाल बोकेर निस्केको छोरोको छातीमा लागेको गोलीले अहिले पनि उनको पोली रहेको छ । 'मधेसी नेताले हाम्रा घाउमा मलम लगाउलान् भन्ने आशा थियो, तर उनीहरूले पनि हाम्रा भावनामा खेलवाड गरे,' उनले भने ।

महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेका १९ वर्षको जेठो छोरा निर्मल राजवंशी मधेस आन्दोलनका क्रममा ०६३ माघ २४ गते सुरक्षाकर्मीको गोलीबाट मारिए । उनीसँगै मोरङकै सिजवनी गाविसका तल्लु हेमरन पनि मारिएका थिए । त्यसपछि पढाएर छोरालाई ठूलो मान्छे बनाउने राजकुमारको सपनामा तुसारापात भयो ।

त्यतिमात्र होइन, छोराको रगतले सफल भएको मधेस आन्दोलनले भावी पुस्तालाई उज्यालो बाटोतर्फ लैजान्छ भन्ने उनका आशासमेत तुहेर गए । सम्झनाको पाना रहेको सहिद छोराको तस्बिर बोकेर राजकुमार उनकी श्रीमती गहभरि आँसु पार्छन् र मधेसी नेतालाई धिक्कारिरहेका छन् । उनीहरूको एउटै स्वर छ- कति फुट्छौ, सत्ता र कुर्सीका लागि ।

उनीहरू त पात्रमात्र हुन्, मधेस आन्दोलनपछि आफूहरूको मुक्ति हुन्छ भन्ने आशा गरेका प्रत्येक मधेसीको भावनालाई यसरी नै चोट पुगेको छ फुटको राजनीतिले । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक घनश्यामलाल दास मधेसी दलहरू फुटेर मधेसका जनताको विश्वासघात गरेको बताउँछन् ।

त्यसबेला उठाएका मुद्दा अहिले पनि मधेसी जनताले छोडेका छैनन् तर मधेसी नेताहरूचाहिँ मुद्दा छोडेर सत्ता समाउन पुगे,' उनले भने, 'त्यसले गर्दा आममधेसीमा निराशा छाएको छ ।' मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा मधेसका मुद्दालाई स्थापित गरे पनि त्यसको निकास दिन नसकी दलहरूमा आएको विभाजनले अन्योलता बढाएको बताउँछन् । 'मधेसीहरूको राजनीतिक तथा अन्य क्षेत्रमा सहभागिता बढ्ने क्रममा छ, यसलाई अझै अघि बढाउने बेलामा एकता आवश्यक हो, दुर्भाग्य फुट बढ्यो,' उनले भने ।

पछिल्लो समय मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) मा कारबाही गर्ने र पार्टी त्याग्ने दुवैथरी लहर चलेको खबरले मधेस झनै निराश बनेको छ । लोकतान्त्रिकबाट बाहिरिएकालाई समेटेर भण्डारी नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

६ वर्षअघि भएको संविधानसभा निर्वाचनमा तराई मधेसबाट जम्मा ६ वटा पार्टी सहभागी थिए । अहिले १७ पुगेको छ, भण्डारीले नयाँ पार्टी बनाएपछि १८ हुन्छ । संविधानसभा चुनावपछि सबैभन्दा धेरैपटक मधेसवादी नै फुटेका हुन् । यी पार्टीको मुख्य कारण सत्ता र कुर्सी नै देखिएको छ । जुन पार्टी सत्तामा पुग्यो त्यही फुट्छ ।

संविधानसभा चुनावमा चौथो शक्तिका रूपमा उदाएको मधेसी जनअधिकार फोरम नेपाल सत्ताकै कारण फुटेर तीन टुक्रा बनेको छ । चार वर्षअघि मधेसी जनअधिकार फोरम नेपाल फुटाएर विजयकुमार गच्छदारले आफ्नै अध्यक्षतामा मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) गठन गरे ।

एक वर्ष बित्न नपाउँदै फोरम नेपालकै सहअध्यक्ष जेपी गुप्ताले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) बनाए । पार्टीभित्रको आन्तरिक कलहकै कारण

महेन्द्र राय यादवले तराई मधेस लोकतान्त्रिक पार्टी छाडेर ०६७ मा तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गरे ।

मधेसका ठूला पार्टीमात्र होइन सानासमेत फुटिरहेका छन् ।

प्रकाशित मिति: २०६९ असार १८, कान्तिपुर

No comments:

Post a Comment