Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

नाना

"नाना बुढा त गएछन् नि आज"पल्ला घरका दाइको परबाट यो बोली मेरो कानमा च्वास्स पस्यो अनि एक्कासी मुखबाट निस्कियो-कठै! नाना (राजबंशी/थारु आदि जातमा मावली हजुरबुवा) करिब एक महिना अघि जेठी छोरीको जेठी छोरीको घर गएका थिए। नाना बुढा निकै बुढो भएका थिए।ठूलो सिसावाला चस्मा हातमा एउटा लौरो र काधमा कालो छाता अड्काएर पछाडी झुन्ड्याउँदै कहिले जेठी छोरीको घर त कहिले कान्छी छोरीको घर पैदल नै आउँथेँ।छोराको घर प्राय जादैन थिए।नानाको आँखा कमजोरी भएतापनि जेठी छोरी र कान्छी छोरीको घरसम्मको करिब छ किलोमिटर को मूल राजमार्गको बाटो हुत्तिदै हिँड्थे। उनका दुइ छोरी र एक छोरा थिए।पूर्व,तराइको मध्य दक्षिण क्षेत्रमा नानाको बिशाल बिर्ता थियो।उनलाइ सबैले देउनिया भन्थे।वल्लो छेउमा उभिएर पल्लो छेउको साँध देखिन्नथ्यो।पहाडबाट मान्छे क्रमश तराइ आउँदै जाँदा यि लगायत अन्य देउनियाको(प्राय सबैको प्रशस्त जमिन थियो) सीमाना साँधुरिदै गयो।आफ्नो परम्पराले पनि हुनसक्छ ,यो
जात (राजबंशी र राजबंशीकै अभ्यास गर्ने थारु)आफ्नो घरमा आएकालाइ धेरै भन्दा धेरै मान गरेर बिहान दिउँसो बेलुका माछा मासु दिनहुँ खुवाउँथ्यो।र पाहुना पनि लामो अवधिका हुन्थे।कसैले केटी भगाएर ल्याएपनि उसको सादी अनिवार्य छ,बच्चा जन्मिएर बिहे गर्ने उमेर किन नहोस् बाआमाको बिहे अनिवार्य छ ।
देउनियाँको अचल सम्पति क्रमश चल बन्दैगयो जसले उनीहरुको बिलासी जीवनमा थप बिलासिता थप्यो।समय बित्दै जाँदा,कुनै बेलाको प्राय सबै सम्भ्रान्त परिवार टट्टु बने।उनीहरुको जमिनमा बिशाल बस्ती बस्यो र अरुकै बाली लहर्यायो अनि देउनिया हरु कुल्लीको हैसियतमा पुगे।
खैर,नाना ले आफ्नो आधा भन्दा बढी सकेपनि अझै एउटा टोल बस्न पुग्ने बाँकी नै थियो।अचानक छोरा बिरामी भयो।एउटै मात्र छोरा,नानामा मायाले चुप बस्न दिएन।त्यो बेला नेपालमा स्वास्थ्य सेवा बिस्तार थिएन।भारतमा राम्रै ब्यवस्था थियो तर भारु चल्नाले नेपालीलाइ महङ्गो थियो,बुढा पछी सरेनन्।
छोराछोरीको बिहेवारी सक्दासम्म आर्थिक अवस्था नाजुक बनिसकेकोथ्यो।केही समय छोराबुहारीले राम्रै गरेपनि दुइ बर्ष नपुग्दै छिछि दुरदुर गर्न थाले।बिचरा नाना!!आफु तिरस्कृत भएपछी छोरीहरुको शरणमा पुगे र पालैपालो बस्न थाले।
कहिलेकाहीँ नाना बिरामी हुँदा भन्थे "नानी टाउका दुखेको गुटी छ?" घरमा भएको बेला पाइहाल्थे।
अर्को कुनैदिन ज्वरो आएको थियो र सोध्दै थिए"बुखारको गुटी छ?"अक्सर सामान्य औषधी घर मा पनि हुन्थ्यो।
धेरै दिनदेखी एउटा कुरा याद गरिराखेको थिएँ।जब औषधीको पैसा दिनुपर्थ्यो,उनलाइ निकै गाह्रो हुन्थ्यो।तर उनि निकै बुढो भएकाले बृद्ध भत्ता ले कठिन नहुनुपर्ने हो।मैले सोधेँ"नाना तपाइलाइ बृद्ध भत्ता दिदैनन्?"
"नि,नागरिकता ले भन्छ।मोक उ कुछु नि छे।"
"नाना बुढाबुढीलाइ सरकारले पैसा दिन्छ। छोरालाइ नागरिक्ता बनाइ दे भन्नु न।"
"कहिस्नु त।कुत्ता!!हँ भाइ म भोली गएको थिएँ।बुहारी त बोलेन छोरा पनि बोलेन।कि कहुँ?छोडिदिएँ अब"
नानाले आफ्नो अधिकारले पाउने पैसा पनि पाएनन्।दुइहजार बत्तीस/तेत्तीस सालमा नागरिकता बनाउने टोली गाउँ शिबिरमा आउँदा,नानालाइ नागरिकताको अर्थ थाहा थिएन र उपयोगिता पनि।उनले वास्ता नगरेका रैछन्।
नाना आँखा कम देखे पनि खाली हात कैले बसेनन्।छोरीको घर वरिपरि चिटिक्क परेको बेरा लगाइदिन्थे तथा यावत कामहरु गर्थे।भन्थे उनीहरुले खाएको अरुले देख्न हुन्न।क्रमश बुढ्यौली ढल्किदै गयो,उनले नातिनीहरु (कान्छी छोरीका छोरीहरु,चार छोरी मात्र थिए) बाट राम्रो सम्बोधन गरेको सुनिएन,जेठी नातिनी बाहेक।
"ओए बुड्डे" शब्दले सम्बोधन गर्थे । छि फोहोरी बुड्डे कस्तो फोहोर गर्छ । इत्यादी भन्दा पनि नाना बिझेर पनि नबिझेको प्रतिक्रिया देखाउँथे । सायद केटीलाइ घर धेरै सफा देखाएर मान्छेलाइ आफु सफा छु भन्ने देखाउनु पर्ने हूँदो हो।औसतमा नानाले "नाना"सम्बोधन निकै कम पाए।छोरी आफ्ना बाउलाइ होच्याएर त बोल्दिन थिन तर आफ्ना छोरीलाइ गाली गर्ने चेतावनी दिने पनि गरिनन्।उसो त नाना अशक्त हुँदै जाँदा क्रमश सद्भाव पनि अशक्त हुँदै थियो।
नाना पछिल्लो समयमा बढी निराश थिए।उनलाइ बुढ्यौलीले नराम्ररी गाँजेको थियो।अक्सर जन्मेको साल याद कोही पनि गर्दैनन् थिए ।कहिले जन्मेको भन्न प्रश्नको उत्तरमा भन्थे "एकसाल धेरै पानी परेको थियो नि,हँ त्यही साल हो।"साल पत्ता लाउन गाह्रो छ।तर पनि उनका कुरा र अवस्थाले नब्बे बर्ष आसपासको अनुमान गर्न सकिन्थ्यो।पछिल्ला दिनमा उनी माया पाउने बेलामा तिरस्कृत थिए।नाना भन्थे उता जेठी पनि मेरै सन्तान नै त हो।मेरो रगतमा त्यही बीउ रहेछ जुन आज ढकमक्क फुलेको छ।जीवनदेखी हार खाएका उनी चाँडै मृत्यु रुचाउँथे।भन्थे"जमिनमा चाखी सके हँ देउताको नोकर हुन मन गर्छ।उनको यो सबै स्थिति देखेर जीर्ण भएको उनको स्वास्थ्य लाभको सट्टामा चाँडो सहज मृत्युको कामना मनमनै गरेँ ।
"नाना, कुना जाछिस ?" मैले उनकै भाषामा सोधेँ ।
"ए बेरुवा ।"
"झोला बोक्नु भ'को छ त अनि ?"
"जेठी छोरीको घर जान्छु ।"
"फेरी यता कैले आउने नाना?"
"था नि छे । एक दुइ हप्ता होबे"
नाना एउटा हातमा बाँसको डन्डी भएको छाता र अर्को हातले सानो पोको काँध पछाडी राखेर बोक्दै अनि ठाडो घाटी लाएर पर धुमिल दृष्य ठम्याउन खोज्दै लर्बराउँदै हिड्दै थिए । मैले आफ्नो घरकै आँगनबाट त्यति गफ गरेँ । उसो त गाउँका बुढाहरुमा सबैभन्दा बढी मन पर्ने मान्छे पनि नाना नै हुन् । जहिले पनि नाना बाटोमा देख्दा मैले बोलि हाल्ने केही वाक्य थिए - नाना कुना जाछिस? नाना कि छे खवर ? आदि । म उनको भाषामा पूर्ण छैन । बाँकी कुराकानीका क्रममा नेपाली र राजबंशी भाषा मिसमास पार्थे र उनी पनि मेरा निम्ति त्यसै गरिदिन्थे , रमाइलो पार्थे ।
उनी गए । सामान्यतया आफ्नै काममा ब्यस्तले उनलाइ सधैँ सम्झिनँ । उनी उता गएपछी बिरामी भएछन् । यतावाट उता गएको डेढ महिना भएको रैछ ,उनले यस संसारलाइ छोडे।
आज म किन उनले दुःखबाट मुक्ति पाए भनेर खुशी हुन सकिन?के म उनलाइ दुःख दिन अझै यो पृथ्वीमा राख्न खोजिरहेको त छैन?

No comments:

Post a Comment