Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

चिया पसलेदेखि सभासद्सम्म

कामले मानिस कहिल्यै पनि सानो–ठूलो हुँदैन । असल उही हुन्छ, जसले कठिन परिस्थितिका बीचमा पनि आफूलाई सत्यकर्ममा अडिग राख्छ । रातको निष्पट्ट अँध्यारो अत्तालिनेहरुले बिहानको सूर्यको किरण देख्न पाउँदैन । जसमा पर्खने साहस र धीरता हुन्छ, निष्पक्ष अँध्यारोको बीचमा पनि बिहानको सूर्य हेर्ने धैर्य राख्छ, उसैले मात्र संसार उज्यालो देख्न पाउँछ ।
गीतामा भनिएको पनि छ ‘कर्म गर फलको आश नगर’ । अहिले वास्तविकता अम्बिका राजवंशीको हकमा भन्ने लागू भएको छ । जीवनमा अनेकौं हण्डर ठक्कर पाएकी अम्बिका यस्ती पात्र हुन्, सायद अहिलेका आम मानिसले गर्न नरुचाउने काम, व्यवसाय र संघर्ष गरिन् । र, त आज उनी सभासद् भएकी छिन् । र, संघर्षशील जीवनकै कारण अदम्म साहस बोकेर अम्बिका चिया पसलदेखि संविधानसभासम्म पुग्दैछिन् ।

झापा सुरुङ्गा–९ की अम्बिकालाई दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक सभासद् बनाइएको हो, एमालेको ८४ जना समानुपातिक सभासद्मा पर्न सफल भएपछि सुरुङ्गाबासी मात्र खुसी बनेका छैनन्, राजवंशी समुदायमा खुसीको संचार भएको छ । आर्थिक रुपमा अत्यन्त दयनीय तर राजनीतिक रुपमा अत्यन्त सवल मानिने अम्बिका र उनका पति लामो समयदेखि राजनीतिमा क्रियाशील छन् । पति नारायण सिंह राजवंशी यस अगाडि २०४८ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर ४ का विजयी सभासद् हुन् ।
श्रीमान् सभासद् भएपनि अम्बिकाको जीवनमा कहिल्यै पनि सुखका दिन आएनन् । नारायण सभासद् बनेकै साल बिक्रम सम्वत २०४८ सालमा विवाह गरेकी अम्बिकाले श्रीमानले अथाह सम्पत्ति जोडिदिउन् भन्ने कहिल्यै इच्छा प्रकट गरिनन् ।
जसका कारण ५१ सालको मध्यावधि चुनावमा नारायण सिंहको पराजयसँगै जीवन जिउने क्रममा धेरै संघर्ष गर्न पुगिन् उनले । श्रीमानश्रीमती दुवैजना बेरोजगारी । त्यसैमाथि दुई छोराको लालनपालन र शिक्षाको भार । सुरुङ्गामा रहेको डेढ कठ्ठा जमीनमा बनेको सानो ३ कोठे घरभित्र बाँच्नका लागि राजवंशी दम्पत्तीले धेरै आरोहअवरोह झेल्नु प¥यो ।
त्यसपछि अम्बिका आफै कस्सिइन, काम गर्न । धेरै काम खोजिन पनि । तर, उनले सोचे जस्तो भएन । तर, पनि जीवन त चलाउने प¥यो, २०५४ सालबाट उनले लगातार तीन बर्षसम्म बजारबजार घुमाएर कपडा बिक्री गर्ने फुटपाथे काम सुरु गरिन् । पति नारायणसिंह भने आँखाको रोगले थलिए । सबै बजारमा कपडा लिएर जान सम्भव भएन । घरमा स–साना बच्चालाई खाना खुवाउनु, विरामी पतिको हेरबिचार र औषधोपचार सबैको जिम्मेवारी उनकै थाप्लोमा आइलाग्यो, त्यसपछि जेनतेन गुजारा चलिरहेको कपडा बिक्री गर्ने काम छाडिदिइन् । घरमा खानाका लागि चामलको गेडो नभएपनि उनी गाउँ घरमा हुने हरेक थिचोमिचो र महिला हिंसाका घटनाहरुमा न्याय दिलाउन आवाज बुलन्द पार्न कहिल्यै पछि परिनन् ।
कपडा पसल छाडेपछि राजवंशी दम्पत्तीले सुरुङ्गमा जग्गा भाडामा लिएर तरकारी खेती गरी सुरु गरे । र, आफै बजारमा लगेर बिक्री गर्न थाले । श्रीमानश्रीमती दुवै जना आलोपालो गरी राजनीतिक तथा सामाजिक क्रियाकलापमा सरिक हुनसमेत छाडेनन् ।
यसबीचमा नारायणका दुबै आँखाका ज्योतिले काम गर्न छाडेपछि उपचारका लागि आर्थिक अभाव भयो, राजवंशी दम्पत्तीलाई ठूलो संकट आइलाग्यो । पत्रपत्रिकामा यसबारेमा समाचार प्रकाशित भएपछि आफ्ना शुभचिन्तकले स्वदेश तथा विदेशबाट आर्थिक सहयोग  पुर्‍याए । बल्ल उपचार सम्भव भयो । नारायण अहिले पनि आँखाको उपचार गरिरहेका छन् ।
आँखाको उपचारका क्रममा उठेको सहयोग रकमबाट केही रकम बचाएर जीवन जीउनका लागि सुरुङ्गा बजारमा २०६१ सालदेखि एउटा कोठा भाडामा लिई सानो चियाको पसल सञ्चालन गरे । आर्थिक समस्याका कारण चिया पसलमा ग्लास माझ्न अर्को मान्छे राख्न सम्भव थिएन । अम्बिका चिया पकाउने र पति ग्लास माझ्ने गरी पसल चलाउन सुरु गरे । पूर्व सांसदले जीवन चलाउन जुठो ग्लास माझ्न थालेको खबर झापा र यततत्र छरियो । तर, पनि उनीहरुले हिनताबोध गरेनन् ।
उनीहरुले तीन बर्षसम्म सुरुङ्गा बजारमा चियापसल चलाएका थिए । घरमा जस्तोसुकै आर्थिक समस्या परेपनि पत्नी अम्बिकालाई सामाजिक कार्यमा लाग्न प्रेरित गरिरहेको बताउँछन्, नारायण ।
‘जतिबेला पनि तिमी लाटी भएर घरमै बसिरहनु हुन्न समाज परिवर्तनका लागि म जत्तिकै तिमीले पनि भूमिका खेल्नुपर्छ भन्थें’– नारायण सम्झन्छन् ।
नारायणको आडैमा बसेकी अम्बिकाले पनि श्रीमानको प्रशंसा गर्न छुटाइनन् । भनिन– ‘श्रीमानकै प्रोत्साहन र हौसला नपाएको भए सायद म सुरुङ्गाबजारमै चिया पसल चलाइरहेको हुने थिएँ । म यो अवस्थामा आइपुग्ने थिइन ।’
यसबीचमा एमालेले अम्बिकालाई झापा क्षेत्र नम्बर ४ बाट एक्लै समानुपातिकतर्फको उम्मेद्वार बनायो । आर्थिक अभावका कारण पर्चा पम्पलेट छाप्न त परै जाओस् आफूसँग भोट माग्न हिँड्ने कार्यकर्तालाई एक कप चिया समेत खुवाउन नसकेको उनी बताउँछिन् ।
आफ्ना पतिले घरमा भाँडा माझी आफूलाई भोट माग्न पठाएर न्याय गरेको बताउँदै अम्बिका भन्छिन् – ‘समानुपातिकतर्फबाट आफ्नो नाम एमालेले सिफरिस गरिदिएर पति र पार्टी दुर्वतर्फबाट न्याय पाएकी छु ।’

No comments:

Post a Comment